काठमाडौं । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निश्कल राई विजयी भएका छन् ।
श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई नौ सय ११ मत अन्तरले पराजित गर्दै कांग्रेका राई विजयी भएका हुन् । यस क्षेत्रमा २०५६ सालदेखि एमालेले जित्दै आएको थियो ।
कांग्रेसका राईले १४ हजार ५४३ मत पाउँदा श्रम संस्कृति पार्टीका नेम्वाङले १३ हजार ६३२ मत पाएका थिए । एमालेका काजीमान कागते ११ हजार ९६६ मतसहित तेस्रो बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदालले नौ हजार १६० मत र नेपाली कम्युनिष्ट पार्टीका रण बहादुर राईले सात हजार ६६५ मत पाएका छन् ।
शिक्षा पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी हाल अर्थशास्त्रमा एमफिएल अध्ययनरत छन् ।
शैक्षिक दक्षतासँगै संगठनात्मक अनुभव बटुल्नुभएका राई नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दै हाल नेपाली कांग्रेस इलाम १ प्रदेश ख को क्षेत्रीय सभापति समेत हुन् ।