बुधवार, आश्विन १४ गते २०८३

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर अवकाशमा, यि हुन दौडधुमा रहेका १८ दाबेदार

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा सोमबारदेखि दुई जना डेपुटी गभर्नर पद रिक्त भएको छ । हालका डेपुटी गभर्नरहरु डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र अनिवार्य अवकाशमा गएसँगै नयाँ नियुक्तिको लागि दौडधुप पनि सुरु भइसकेको छ ।

यद्यपि नयाँ डेपुटी गभर्नरका लागि छनोट प्रक्रिया भने थालिएको छैन । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार पनि अब छिट्टै गठन हुने भएका कारण डेपुटी गभर्नर छनोटको काम पनि नयाँ सरकारले नै गर्ने सम्भावना बढेको छ । 

भावी गभर्नरको दाबेदार समेत मानिने भएका कारण डेपुटी गभर्नर नियुक्ति पनि पेचिलो हुने गरेको छ । राष्ट्र बैंक ऐनमा कार्यकारी निर्देशकमध्येबाट तीन योग्य व्यक्तिलाई डेपुटी गर्भनरका लागि गभर्नरले सिफारिस गर्ने व्यवस्था छ ।
 
गभर्नरले बुझाएको  सिफारिस सूची अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले तीनमध्ये दुईजनालाई डेपुटी गभर्नर नियुक्ति गर्ने प्रावधान छ । डेपुटी गभर्नरहरू राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । 

डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा केन्द्रीय बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने ऐनमा व्यवस्था छ ।  तर, मन्त्रिपरिषद्मा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गर्ने अभ्यास छ । 

यी हुन डेपुटी गभर्नरका १८ जना दाबेदार

राष्ट्र बैंकभित्रका विभिन्न महत्वपूर्ण विभाग सम्हालिरहेका कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरको दौडमा छन् । प्रतिस्पर्धामा रहेका कार्यकारी निर्देशकहरूमध्ये बैंक तथा वित्तीय संस्था नियमन विभागका रामु पौडेल, आर्थिक अनुसन्धान विभागका डा. रामशरण खरेल र बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावल तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी हुन् । किनभने, उनीहरू राष्ट्रबैंकभित्रको शक्तिशाली विभागमा नेतृत्व गरिरहेका छन् ।

यो दौडमा लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका नरेश शाक्य, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल र वित्तीय संस्था सुपरिवेक्षण विभागका विश्रुत थापा छन् । त्यसैगरी, गभर्नरको कार्यालयमा कार्यरत कार्यकारी निर्देशक दयाराम शर्मा, मानव संसाधन व्यवस्थापन विभागका गुरुप्रसाद पौडेल, विदेशी विनिमय व्यवस्थापन विभागका किरण पण्डित, भुक्तानी प्रणाली विभागका डा. सत्येन्द्र तिमिल्सिना र गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका चेतप्रसाद उप्रेती पनि दौडमा छन् ।

बैंकिङ विभागका रोशनकुमार सिग्देल, मौद्रिक व्यवस्थापन विभागका डा. डिल्लीराम पोखरेल, सूचना प्रविधि विभागका निश्चल अधिकारी र मुद्रा व्यवस्थापन विभागका अनुज दाहाल, आन्तरिक लेखा परीक्षण विभागका दीपकराज लमिछाने, कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका राजनविक्रम थापा र वित्तीय व्यवस्थापन विभागका राजेन्द्र भट्टराई पनि डेपुटी गभर्नर पदका दाबेदार हुन् । 

डेपुटी गभर्नरलाई राष्ट्र बैंकको नीति–निर्माण, मौद्रिक व्यवस्थापन, बैंकिङ प्रणालीको निगरानी तथा समष्टिगत आर्थिक स्थायित्वसँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने दायित्व हुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार