बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२को रोचक पक्ष

कसैले पाँच मतले जिते, कोही ५० हजार मतान्तरले पराजित भए

बुधवार , फाल्गुण २७, २०८२

 काठमाडौं ।  प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका मत परिणाम सार्वजनिक हुँदा केहि उम्मेदवार यस्तो भाग्यमानी ठहरिए, जो प्रतिस्पर्धीलाई झिनो मतले उछिनेर भएपनि निर्वाचित भए ।

तर केहि उम्मेदवार भने निकटतम प्रतिद्धन्द्धीलाई फराकिलो मतान्तरले पछि पारेर आरामसँग विजयी बने । यस्ता भाग्यमानी उम्मेदवार मध्येका एक हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओखलढुङ्गाका उम्मेदवार विश्वराज पोखरेल ।  पोखरेलले  प्रतिस्पर्धीलाई पाँच मतको अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । 

पोखरेलले १३ हजार ९५३ मत ल्याउनुभयो भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणनाको नतिजा अनुसार यो सबैभन्दा कम अन्तरको जित हो ।

यसैगरी, अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वार पनि प्रतिद्धन्द्धी भन्दा ५२६ मत बढी ल्याएर विजयी भए । उनले नपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार भीमबहादुर रावललाई पराजित गरे । स्वारले १० हजार ७५९ मत ल्याउँदा नेकपाका रावलले भने १० हजार २३३ मतमात्र ल्याए । 
 
एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पनि नेपाली कांग्रेसका भरतबहादुर खड्काले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पराजित गरे ।  खड्काले १४ हजार ८९७ र धामीले १४ हजार ११० मत ल्याए । 

एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापालाई ५४० मतले पराजित गरे ।  गिरीले १७ हजार १७३ मत पाउँदा थापाको पक्षमा १६ हजार ६३३ मत मात्रै खस्यो । 

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा आफ्ना निकटतम प्रतिस्पर्धीलाई केवल पाँच सय ६१ मतले पराजित गर्दै रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी भयो ।  पन्थीले १६ हजार ९६७ मत ल्याउँदा नेकपा एमालेका गोकर्ण विष्टले १६ हजार ४०६ मत ल्याए । 

यसैगरी, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले आफ्ना निकटतम् प्रतिस्पर्धीलाई केवल ५७६ मतले पराजित गरिन् । उक्त निर्वाचन क्षेत्रको अन्तिम मतपरिणामअनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा हाँसिल गरेका नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए । 
 
यसैगरी, बाग्लुङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोम शर्माले नेपाली कांग्रेसका टेकराज पौडेलललाई ७७९ मतान्तरले पराजय गराए । शर्माले १२ हजार ६४७ मत ल्याउँदा पौडेलले ११ हजार ८६८ मतमात्र ल्याए ।

सिन्धुली क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार धनेन्द्र कार्कीले नेकपा एमालेका प्रदीपकुमार कटुवाल क्षेत्रीलाई ७८४ मतले पराजित गरे ।  । कार्कीले १६ हजार ६५९ र कटुवालले १५ हजार ८७५ मत प्राप्त गरे । 

एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले नेकपा एमालेका भानुभक्त ढकाललाई केवल ८ सय ७९ मतान्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । 

यो निर्वाचनका उम्मेदवारहरु थोरै मतान्तरले मात्रै पराजित भएका छैनन्, थुप्रै उम्मेदवारहरु भारी मत अन्तरले प्रद्धिन्द्धीलाई पछि पार्दै विजयी पनि भएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन) सँग ४९ हजार ६ सय २४ मतान्तरले पराजित भए । 

बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी हुँदा ओलीले १८ हजार ७ सय २४ मत पाए । बालेनले मात्रै होइन, चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भए । लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त प्राप्त गरिन् ।  लामिछानेको मत खरेलको भन्दा ३९ हजार ८ सय ३८ बढी हो । 

त्यस्तै झापा क्षेत्र नं. दुईबाट रास्वपाको तर्फबाट निर्वाचित हुनुभएका पूर्व उपसभामुख इन्दिरा रानामगरले पूर्व सभामुख देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गरिन् ।  राना मगरले ६० हजार ११० मत ल्याउँदा घिमिरेले ११ हजार ३६८ मत मात्रै ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ । रानामगर र घिमिरे यसअघिका संसदका सहकर्मी हन् । 
 
रास्वपाकै तर्फबाट चितवन क्षेत्र नं.३ बाट निर्वाचित सोविता गौतमले ५९ हजार २७७ मत ल्याउँदा दोस्रो स्थान हाँसिल गरेका भरतपुर महानगरपालिकाको मेयरबाट राजनिामा दिएर नेकपाको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले २० हजार ६१५ मत मात्रै ल्याइन् । 

चितवन क्षेत्र नं. १ बाट रास्वपाको हरि ढकाल ५८ हजार २०८ मत ल्याउँदा नेपाली कांग्रेसका राजेन्दप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत मात्रै ल्याए । रुपन्देही क्षेत्र नं. ३ बाट रास्वपाको तर्फबट उम्मेदवार बनेका डा. लेखजंग थापाले ५८ हजार ८१५ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले आठ हजार ४३५ मत मात्रै ल्याए । 

रास्वपाकै तर्फबट रुपन्देही क्षेत्र नं. २ बाट विजयी हुनुभएका शुलभ खरेलले ५६ हजार ५५० मत ल्याउँदा नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत मात्रै ल्याए ।  
रास्वपाको तर्फबाट सुनसरी क्षेत्र नं. २ बाट विजयी हुनुभएका लालविक्रम थापाले ५७ हजार ३४८ मत ल्याउँदा नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत मात्रै ल्याए । 
 
निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनालाई विश्लेषण गर्दा फराकिलो मत अन्तरले विजयी हुनेमा अधिकांस उम्मेदवार रास्वपाको तर्फबाटै छन् । रास्वपासँग फराकिलो मतान्तरले पराजित हुनेमा अधिकांस उम्मेदवार नेपाली कांग्रेस र नेकपा एमालेका छन् । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार