काठमाडौं । फागुन २७ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना कार्य सम्पन्न भएको छ ।
प्रत्यक्षतर्फ भने एक सय ६५ वटै निर्वाचन क्षेत्रको मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतगणना सम्पन्न भएपछि जिल्ला तथा क्षेत्रबाट मतगणनाको प्रमाणित प्रति मगाएर अध्ययनको काम भइरहेको छ । अध्ययन सकेपछि आयोगले दलले पाएको मतको आधारमा सिट सङ्ख्या निर्धारण गरेर सम्बन्धित राजनीतिक दललाई पत्राचार गर्छ ।
बढी मत ल्याउने दलको भागमा धेरै ठुला भागफल पर्ने भएकाले उनीहरूले धेरै सिट पाउँछन् भने कम मत ल्याउनेले थोरै सिट प्राप्त गर्छन् ।
यसै विधिलाई प्राविधिक रूपमा ‘सेन्ट लग मेथड’ भनिन्छ । सिट सङ्या यकिन भएपछि दलले कानुनले तोकेको समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) बमोजिमको क्लस्टर मिलाएर तीन दिनभित्र आयोगमा नाम सिफारिस गर्नुपर्ने हुन्छ ।
दलले पठाएको नाम बन्दसूचीको क्रम र समावेशी कानुनबमोजिम भए÷नभएको निर्वाचन आयोगले जाँचबुझ (भेरिफिकेसन) गर्छ । प्रक्रिया कानुनसम्मत देखिएपछि मात्र अन्तिम नामलाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र वितरण गरिने प्रवक्ता भट्टराईले बताए ।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा –एमाले), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेसहोल्ड (तिन प्रतिशत मत) कटाएका छन् । यस आधारमा यि दललाई मात्रै समानुपातिक तर्फको एक सय १० सिट भाग लगाएर वितरण गरिनेछ ।
समानुपातिकतर्फको सिट बाँडफाँट गर्दा आयोगले दलले प्राप्त गरेको सदर मतलाई सिटमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानी दलले बन्दसूचीमार्फत उम्मेदवारी दिने गर्छन् ।
यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट सङ्ख्या निर्धारण गरिन्छ ।
प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३४ मा समानुपातिक मत परिणाम विभाजक सुत्रबारे उल्लेख गरिएको छ । उक्त सुत्र अनुसार दलले पाएको सदर मतलाई बिजोर सङ्या (१, ३, ५, ७, ९, ११, १३ आदि) भाजकहरुले भाग गरिन्छ । यसरी भाग गर्दा आउने भागफल (क्योसेन्ट) भनिन्छ ।
यसरी भाग गर्दा आउने भागफललाई ठुलोबाट सानो क्रममा मिलाएर राखिन्छ । समानुपातिकतर्फ जम्मा १ सय १० सिट हुने भएकाले माथिबाट गन्दै जाँदा सबैभन्दा ठुला १ सय १० वटा भागफल छानिन्छन् । ती १ सय १० वटा ठुला भागफल कुन–कुन दलको भागमा पर्छन्, सोही आधारमा दलले सिट प्राप्त गर्छन् ।