आइतवार, श्रावण २४ गते २०८३

मकवानपुरमा प्रहरी गस्तिमाथि आक्रमण, दुई जना घाइते

बिहिवार , फाल्गुण २८, २०८२

मकवानपुर । मकवानपुरमा गस्तिमा गएको प्रहरी टोलीमाथि लागु औषध दुव्र्यसनीम परेको युवाबाट आक्रमण भएको छ ।  जिल्लाको मनहरी गाउँपालिका–१ मकरीमा गस्तीमा गएको प्रहरीमाथि आक्रमण भएको हो । 

आफूहरुमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले हवाई फायर गर्दा एक जना घाइते भएका छन् भने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

गएराति लागूऔषध सेवन तथा झैँझगडा भइरहेको सूचनापछि प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । 

घटनाबारे सोधपुछ गर्ने क्रममा तामाङमाथि एक्कासी बियरको बोतल, खुकुरी र बन्चरोले प्रहार भएको थियो । तामाङका दुवै हातमा चोट लागेको छ ।

त्यसपछि आत्मरक्षाका लागि तामाङले साथमा रहेको पेस्तोलबाट एक राउण्ड फायर गर्दा हेटौँडा उपमहानगरपालिका–१२ हात्तिगौडाका सनिस तितुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 


बोगटीका अनुसार १९ वर्षीय तितुङको पेटको दाहिने भागमा गोली लागेको छ । घाइते तितुङ र प्रहरी सहायक निरीक्षक तामाङ दुवैको चुरेहिल अस्पताल, मकवानपुरमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना र गोली लागेर घाइते भएका तितुङ विगतमा लागूऔषध, ज्यान मार्ने उद्योग तथा चोरीलगायतका विभिन्न अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार