काठमाडौं । भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेपछि स्कुले केटाकेटीमा पनि खुशी चुलिएको छ ।
उनीहरुको खुसी विशेष गरि शुक्रबार देखियो । कक्षा १२ को पढाई सकिएसँगै उपत्यका लगायतका स्कुलहरुले शुक्रबारदेखि औपचारिक रुपमा पढाई सकाएर विद्यार्थीको बिदाई गरेका छन् ।
स्कुलको बिदाईपछि विद्यार्थीहरु स्वतस्फूर्त रुपमा काठमाडौँका बसन्तपुर, स्वयम्भु, भृकुटीमण्डप लगायतका स्थानहरुमा खुशीयाली मनाउन भेला भएका थिए ।
उक्त भेलामा विद्यार्थीहरुले एक अर्काबिच अबिर दल्दै सर्ट तथा आफूले लगाएको कपडामा राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन सरकार, कम्युनिष्ट मूर्दाबाद लगायतका शब्द लेख्दै खुशी साटासाट गरिरहेको देखिन्थ्यो ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अनुसार रास्वपाले प्रत्यक्षर्फ एक सय २५ तथा समानुपातिकतर्फ ५७ सिट समेत गरेर कुल एक सय ८२ सिट प्राप्त गरेको छ । जुन प्रतिनिधि सभामा कुल सदस्यको दुई तिहाई भन्दा दुई मतले थोरै हो ।
पढाई सकिएपनि उनीहरुको परीक्षा भने सकिएको छैन । स्कुलहरुले उनीहरुको लागि वार्षिक परीक्षाको पूर्व तयारी परीक्षा चैत पहिलो सातादेखि सञ्चालन गर्दैछन् । वार्षिक परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाख १४ गतेदेखि सञ्चालन गर्दैछ ।