बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

२० वर्ष यताकै कम बदर मत

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बदर मतदानको प्रतिशत अघिल्ला निर्वाचनका तुलनामा घटेको छ । निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ । 

जसमध्ये प्रत्यक्षतर्फ ५.४५ र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको थियो । बदर मतको प्रतिशत निर्धारण गर्दा दुवै तर्फको बदर मतलाई औसत मान्ने गरिएको छ । यसपटकको निर्वाचनको मतदान फागुन २१ गते भएको थियो । 


निर्वाचनमा कुल एक करोड ८९ लाख तिन हजार ६८९ मतदाता थिए । जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो । कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदान भएको मतको ९४.५५ प्रतिशत हो । 

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो ।भट्टराईका अनुसार यसमध्ये एक करोड ८ लाख ३५ हजार २५ मत सदर भएको हो 

यो समानुपातिकतर्फ भएको मतदानको ९६.०५ प्रतिशत हो । आयोगले उपलब्ध गराएको विवरण अनुसार यसअघि २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो । 

त्यस्तै, २०७४ सालमा सम्पन्न प्रतितिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचनमा ५.१८ प्रतिशत मत बदर भएको थियो ।

त्यतिबेला प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको थियो । सोही साल प्रदेशसभाको प्रत्यक्षतर्फ ६.५५ प्रतिशत र समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएको थियो ।

२०७० सालको निर्वाचनमा तुलनात्मक रुपमा अन्य निर्वाचनमा भन्दा थोरै मत बदर भएको थियो । त्यतिबेलाको निर्वाचनको मदर मत प्रतिशत ४.९६ प्रतिशत थियो । २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।  

यसपटक मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन गरिएको र त्यसैको सकारात्मक योगदान मतदानको बदर मत घटाउनमा देखिएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन हुनुअघि पनि मतदाता शिक्षालाई प्रभावकारी बनाइएको दाबी गर्दै बदर मत घटाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको थियो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार