काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि शिक्षा सुधारमा महँवकांक्षी योजना ल्याएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्व सन्ध्यामा उक्त पार्टीले सार्वजनिक गरेको बाचापत्रमा विद्यालयलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट रोक्ने प्रतिबद्धता जनाएको छ ।
अहिले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म टड्कारो समस्याका रूपमा रहेको शिक्षक र प्राध्यापकलाई राजनीति गर्नबाट पूर्ण रूपमा निषेध गर्ने वाचा उक्त पार्टीले गरेको छ ।
विद्यार्थी सङ्गठनमार्फत हुने अराजकता, तोडफोड, जबर्जस्ती बन्द र शैक्षिक वातावरणमा अवरोध सिर्जना गर्ने गतिविधिलाई नियन्त्रण गर्न शैक्षिक संस्थाभित्र दलगत राजनीतिक कार्यक्रम पूर्ण रूपमा निषेध गर्ने वाचापत्रमा उल्लेख गरिएको छ ।
सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन लगानी थप्दै गुणस्तर वृद्धि गर्ने उक्त पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै निजी शैक्षिक संस्थाको शुल्क संरचना, सेवा मापदण्ड, शिक्षक योग्यता, पूर्वाधार र शैक्षिक परिणामका आधारमा नियमन तथा अनुगमन प्रणाली सुदृढ, शिक्षालाई नाफामुखीभन्दा सेवामुखी क्षेत्रका रूपमा व्यवस्थित गर्दै समान अवसर, पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्ने विषयलाई रास्वपाले प्राथमिकता दिएको छ ।
उच्च शिक्षालाई प्रतिस्पर्धी, अनुसन्धानमुखी बनाउँदै उच्च शिक्षाको खोजीमा विदेश जाने प्रवृत्ति रोक्न नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बनाउन सकिने रास्वपाको दाबी छ ।