काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको सदस्य बनाउने सरकारी प्रस्ताव तत्कालाका लागि रोकिएको छ ।
मन्त्रिपरिषद्को चैत १ गते बसेको बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना प्रदेश सभा सदस्यहरू र स्थानीय तहका पदाधिकारीहरूको मतदानबाट निर्वाचित भएर आउँछन् । बाँकी तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन् ।
राष्ट्रपतिबाट मनोनित हुने ३ जनामध्ये कम्तीमा एक जना महिला हुनुपर्ने संवैधानिक प्रावधान छ । हाल राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित सदस्यमा नारायणप्रसाद दाहाल र अन्जान शाक्य छिन् ।
राष्ट्रपतिबाट मनोनित अर्का सदस्य बामदेव गौतमले कार्यकाल सकिनु केही समय अगाडि राजीनामा दिएका थिए । त्यसपछि रिक्त स्थानमा नयाँ नियुक्ति हुन सकेको छैन ।
सोही स्थानमा सरकारले बहालवाला गृहमन्त्री अर्याललाई नियुक्तिको लागि सिफारिस गरेको हो । तर अर्यालको नियुक्तिको लागि सरकारले सिफारिस गरेसँगै अदालतमा मुद्दा परेको थियो । त्यसमाथि भर्खरै झण्डै दुई तिहाई जनमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले नेनृत्व गर्न लागेको छ ।
यस्तो अवस्थामा राष्ट्रिय सभामा सदस्य नियुक्त गर्नु व्यवहारिक नहुने भन्दै राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया अघि बढाउन चाहेको छैन ।
नयाँ सरकार गठनको लागिचैत १२ गते प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्यको शपथ हुनेछ । त्यसपछि चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन साह (बालेन्द्र) को नेतृत्वमा सरकार गठन गर्ने छ । सोही दिन प्रधानमन्त्री साहले शपथ ग्रहण गर्ने तयारी छ । राष्ट्रपति कार्यालयका अनुसार अब नयाँ सरकार बनेपछि मात्रै रिक्त पदमा नियुक्ति हुनेछ ।