बुधवार, आश्विन १४ गते २०८३

नौं बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

सोमवार , चैत्र ९, २०८२


काठमाडौं । पाँचौ राष्ट्रिय लुघवित्त सदस्य सम्मेलन २०८२ नौं बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ ।

सोमबार र मंगलबार दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको  घोषणापत्रको पहिलो बुँदामा उद्यमशीलता फैलाऔं, युवालाई स्वरोजगार बनाऔं भन्ने मूल नारालाई आत्मसात् गर्दै देशको आर्थिक रूपान्तरणमा योगदान पु¥याउने दृढ संकल्प व्यक्त गरेको छ ।
 यसका लागि लघुवित्त संस्था एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुले विद्यालयस्तरमा ‘पढ्दै कमाउदै’ कार्यक्रम लगायत युवाहरुलाई स्वरोजगार सृजना गर्ने खालका आय तथा सीपमूलक तालिम, व्यवसायिक परामर्श र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने संकल्प गरेको छ ।


दोस्रो बुँदामा लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाका कर्मचारीहरूले सदस्यहरूसँग गर्ने व्यवहारलाई थप मर्यादित, पारदर्शी र सम्मानजनक बनाउने र सेवा प्रवाहलाई सदस्य केन्द्रीत र जिम्मेवार बनाउने संकल्प गरिएको छ ।

तेस्रोमा वातावरणमैत्री, उद्यमशील र स्वावलम्बी समाज निर्माणका लागि हरित वित्तीय कार्यक्रममा युवा शक्तिलाई परिचालन गर्ने र युवाहरूको तीन शून्य क्लब शून्य गरिबी, शून्य बेरोजगारी, शून्य खुद कार्बन उत्सर्जन अभियानलाई व्यापक रूपमा प्रवद्र्धन गर्ने उल्लेख छ ।
घोषणापत्रको चौथो बुँदामा जलवायु परिवर्तनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै प्रत्येक लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा कम्तीमा एक वातावरणमैत्री गाउँ निर्माण गर्न पहल गर्ने तथा हरित उद्यम र दिगो उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने भनिएको छ ।
 पाँचौ बुँदामा समयको माग अनुसार डिजिटल प्रविधि मार्फत लघुवित्त सेवाहरुलाई सरल, सुरक्षित र पंहुचयोग्य बनाउने र सदस्यहरुमा डिजिटल साक्षरता अभिवृद्धि गरि आधुनिक वित्तीय प्रणालीमा पहुँच विस्तार गर्ने उल्लेख छ ।
छैटौं बुँदामा भने सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको वास्तविक प्रभाव मापन गर्न मापदण्ड विकास गरी प्रत्येक वर्ष अध्ययन, मूल्यांकन र सुधारको प्रक्रिया अवलम्बन गर्ने उल्लेख छ ।

सातौमा लघुवित्त संस्था एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुमा रहेका निष्कृय सदस्यहरूलाई पुनः सकृय बनाउन वित्तीय साक्षरता, उद्यम प्रवद्र्धन तथा नियमित अन्तक्रिया कार्यक्रम सञ्चालन गरी उनीहरूलाई उत्पादनमूलक कार्यमा सक्रिय रुपमा सहभागी हुन जोड दिइनेछ ।

PHOTO (5).jpeg
आठौं बुँदामा विपन्न महिलाहरूले सामूहिक ऐक्यबद्धताको माध्यमबाट प्राप्त गर्दै आएको सहज कर्जा तथा बचत सेवाबाट वञ्चित गराउने वा अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि (ऋण मिनाहा, चर्को व्याज) जस्ता भ्रममासदस्यहरू संलग्न नहुने उल्लेख छ । साथै अरु सदस्यहरुलाई पनि त्यस्ता कृयाकलापमा नलाग्न समुदायस्तरमै चेतना फैलाउने र रोक्ने विषयमा जोड दिइएको छ ।

घोषणापत्रको अन्तिम नवौं बुँदामा लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्या तथा चुनौतीहरू समाधान गर्न लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था, कर्मचारी र सदस्यहरू स्वयं जिम्मेवार भई कार्य गर्ने प्रतिवद्धता गरिएको छ । यसबाहेक आवश्यकता अनुसार एक आपसमा सहकार्य, संवाद गरी नीतिगत समस्या समाधानका लागि सरकार तथा नियामक निकायमा सामूहिक पहल गर्ने विषय उल्लेख गरिएको छ ।
सम्मेलनमा उपस्थित प्रतिनिधिहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, विज्ञ वक्ताहरूको विश्लेषणात्मक धारणा, महिला उद्यमी सदस्यहरूको प्रेरणादायी अनुभव तथा लघुवित्तकर्मीहरूको तीन दशकभन्दा लामो अनुभव, भोगाइ र सिकाइलाई समेट्दै घोषणापत्र तयार गरिएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार