आइतवार, श्रावण २४ गते २०८३

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

बुधवार , चैत्र ११, २०८२

 
काठमाडौँ । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्‍याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ काम गरिरहेका छन् ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बुधबार सम्म विद्यालय तहका लागि तोकिएको लक्ष्यको ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ गरी बिक्रीवितरणको तयारी सुरु गरेको छ । 
 
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको नियमित जिम्मेवारीलाई जनक शिक्षा सामग्री केन्द्रले बहन गरेकाले विद्यार्थीले पाठ्यपुस्तकको अभाव खेप्नु नपर्ने सम्बद्ध अधिकारीले बताएका छन् । निजी क्षेत्रका मुद्रकले पनि तोकिएको जिम्मेवारीअनुसार सबै पाठ्यपुस्तक छपाइ भएको जनाएका छन् ।
 
जनक शिक्षा केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले मतपत्र छपाइका बाबजुद पाठ्यपुस्तक छपाइ कार्य हुँदै आएकाले शैक्षिकसत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने प्रबन्ध गरिएको बताए ।  
 
मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको कामलाई समानान्तररूपमा गरेको केन्द्रले शैक्षिकसत्र २०८३ का लागि  एक हजार २६० अधिकृत विक्रेता चयन गरेको छ भने यही चैत १५र१६ गतेदेखि बिक्रीको तयारी गरेको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार केन्द्रलाई तोकिएका कक्षाहरूका लागि करिब ४५ लाख विद्यार्थीका लागि अनुवाद पुस्तक र ऐच्छिक विषयसमेत गरी कुल एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य रहेकामा अधिकांश पुस्तक छपाइ भइसकेको छ । केही पुस्तकहरूको सेट मिलाउन बाँकी रहेकाले उक्त कार्य पूरा भएपछि धमाधम बिक्री सुरु हुने उनको भनाइ छ । 
 
केन्द्रले तोकिएको कक्षाहरूका लागि ३८ अनिवार्यसहित १६० विषयका पाठ्यपुस्तक उत्पादन गरिसकेको छ । केन्द्रले यही चैत १९ देखि हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी हुने पाँच लाख २० हजार विद्यार्थीका लागि आवश्यक प्रश्नपत्र पनि उत्पादन गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकेको छ ।
 
सरकारले हाल कक्षा १, २ र ४ बाहेक कक्षा १२ सम्मका लागि आवश्यकपर्ने पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा केन्द्रलाई दिएको छ । कक्षा १, २ र ४ को निजी क्षेत्रका मुद्रणलाई जिम्मा दिइएको छ । केन्द्रले कक्षा ११ र १२ का लागि चाहिने पाठ्यपुस्तक आगामी असार महिनासम्म मुद्रण गर्छ ।
यसअनुसार ७० प्रतिशत उत्पादनको हिस्सा जनक शिक्षा र ३० प्रतिशत भार निजी क्षेत्रको मुद्रणमा पर्छ । निजी प्रेसले अधिकार पाएकोभन्दा अतिरिक्त तहका लागि पाठ्यपुस्तक छापेर बिक्री गर्दा केन्द्रलाई घाटा लाग्ने गरेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार