आइतवार, श्रावण २४ गते २०८३
भोलिदेखि हुने एसइई तयारी पुरा

पाँच लाख १२ हजार चार सय परीक्षार्थी, १९ सय ६६ केन्द्र निर्धारण

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १२ हजार चार सय २१ जना सहभागी हुने भएका छन् ।

परीक्षा यही चैत १९ गतेबाट सञ्चालन हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालय (कक्षा दश) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६ सय १३ जना छात्रा र दुई लाख ५४ हजार आठ सय एक जना छात्र सहभागी हुँदैछन् ।

परीक्षाको लागि एक हजार नौ सय ६६ केन्द्र तोकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । जसमध्ये नेपाली भाषाको पढाइ भइरहेको जापानको विद्यालयका लागि एउटा केन्द्र तोकिएको छ । उक्त केन्द्रबाट २३ जना परीक्षार्थी सहभागी हुँदैछन् । 

एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिका यसअधि नै सार्वजनिक भइसकेको छ । जस अनुसार परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । 

त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते  ऐच्छिक प्रथम खण्डका सबै विषयहरु र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुनेछ । 

चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछ । पनिकाका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्रश्नपत्र, उत्तपरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको छ । जनशक्ति व्यवस्थापनको काम भइरहेको परीक्षा अधिकारीले बताए । 

अधिकारीका अनुसार परीक्षामा अनिवार्य विषयका प्रश्नपत्र प्रदेश अनुसार सात प्रकारका हुनेछन् । ऐच्छिक तर्फभने सबै भन्दा धेरै परीक्षार्थी सहभागी हुने गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर विषयका लागि भने दुई थरि प्रश्नपत्र तयार पारिएको छ ।

पनिकाले उत्तरपुुस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै दिएको छ भने उत्तरपुस्तिका भने केन्द्रबाट छापेर पठाएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार