काठमाडौं । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेको घटनाको नेकपा (एमाले) ले शसक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
ओली र लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै एमालेले दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौं सचिवालय बैठकले उनीहरुको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भत्र्सना र विरोध गरेको बैठकपछि महासचिव शंकर पोखरेलले बताए ।
शनिबार बसेको बैठकले अध्यक्ष ओली र गृहमन्त्री लेखक पक्राउको राजनीतिक र कानुनी प्रतिवाद गर्न तीन नेतालाई जिम्मेवारी तोकेको छ । राजनीतिक दलहरूसँगको संयोजनको जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेलले गर्ने महासचिव पोखरेलले बताए। संसदीय दलहरूसँगको संवाद र संयोजन गर्ने कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने उनले बताए ।
आजको सचिवालय बैठकको अध्यक्षता पनि बादलले नै गरेका थिए । उनी पहिलो वरीयताका उपाध्यक्ष पनि हुन् । कानुनी प्रतिवाद गर्ने कामको संयोजन गोकर्ण विष्टले गर्ने पोखरेलको भनाइ थियो। यस्तै समग्र जनपरिचालनको संयोजन केन्द्रीय कार्यालयले गर्ने उनको भनाइ छ ।
बैठकले के–के ग¥यो निर्णय ?
एमालेले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गरेको छ । उनीहरू दुवै जनाको तत्काल रिहाइको माग गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।
२०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति पार्टीको सुरुदेखि नै असहमति र विरोध रहँदै आएको बताउँदै उक्त आयोगप्रति सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको महासचिव पोखरेलले बताए ।