काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका सम्पूर्ण सदस्यलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।
अहिलेको अवस्थामा पार्टीलाई एकढिक्का राख्नुपर्नेमा जोड दिदैं पौडेलले एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरे ।
सामाजिक सञ्जालमार्फत उनले देशका हरेक संकटमा पार्टी एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको बताएका छन ।
फेसबुकमा उनले लेखेका छन्, ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं ।’
पूर्व प्रधानमन्त्री तथा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति बैठक राख्ने तयारी गरेपछि गत पुसमा भएको विशेष महाधिवेशनबाट महामन्त्री भएका पौडेलले यस्तो बताएका हुन् ।
देउवा पक्षले आज र भोलि काठमाडौंमा ’केन्द्रीय कार्यसमिति’ बैठक गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी तय भएको नेताहरूले बताएका छन् ।
कांग्रेसमा विशेष महाधिवेशनमा सहभागी भएका र नभएकाहरूले समानान्तर गतिविधि गर्दै आएका छन्। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ ।