काठमाडौं । अमेरिका र इरानबीचको युद्ध छिट्टै अन्त्य हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारेमा जानकारी दिएका हुन् ।
ट्रम्पका अनुसार इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट बाहिरिनेछन् । ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गरे ।
इरानले वार्ताका लागि आग्रह गरिरहेको पनि ट्रम्पले दाबी गरेका छन् । इरानसँग कुनै औपचारिक सम्झौता भए पनि वा नभए पनि अमेरिकाले तोकिएको समयमै इरान छाड्ने उनले स्पष्ट पारे ।
गत महिना इजरायलसँगको समन्वयमा सुरु भएको उक्त कारबाहीको मुख्य लक्ष्य इरानको आणविक हतियार प्राप्त गर्ने क्षमतालाई ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको उनले बताए । ट्रम्पका अनुसार अहिले अमेरिकी सेनाले ‘अन्तिम काम’ बाँकी रहेको भन्दै त्यसलाई पूरा गरिरहेको छ ।