काठमाडौं । नेपाल प्रहरीले अप्रिल फुल मनाएको छ । अप्रिल फुलको दिन प्रायजसोले आफन्त तथा साथीभाईलाई झुक्याउने गरेको भएपनि प्रहरीले भने यस दिनलाई सचेतना अभियान चलाएर मनाएको छ ।
प्रहरीले आफ्ना सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गरेको छ, जसमा ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?’ भनेर हेर्न भनेको छ ।
त्यसपछि क्युआर कोड स्क्यान गरेपछि सचेतना सन्देश देखिने बनाएको छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानको लागि हो’, प्रहरीले लेखेको छ, ‘आज हामीले मजाक गरेका थियौं......तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ ।’