बुधवार, आश्विन १४ गते २०८३

भक्तपुरमा दशौं औद्योगिक, कृषि तथा व्यापार महोत्सव हुने

बुधवार , चैत्र १८, २०८२

भक्तपुर । नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको संयुक्त आयोजनामा महोत्सव भक्तपुरको सल्लाघारीमा आगामी चैत २६ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्।

भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यसहित औद्योगिक शान्ति नेपालले विगत वर्षदेखि निरन्तर रूपमा महोत्सव आयोजना गर्दै आएको छ। उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको जनाइएको छ।

महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन्। ती स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ। साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको समेत प्रदर्शनी गरिनेछ।

महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ को प्रतिकृति राखिनेछ। बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू पनि रहनेछन्।

त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति  कन्सर्ट आयोजना गरिने आयोजकले जनाएको छ।

महोत्सवमा प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ। साथै वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक कार्यक्रम (कन्सर्ट) पनि आयोजना गरिनेछ।

आयोजक संस्थाका अध्यक्ष सन्दीप महत  यस महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार