आइतवार, श्रावण २४ गते २०८३

एसइईको उत्तरपुस्तिका विहिबारदेखि नै परीक्षण सुरु

आज अनिवार्य नेपालीको परीक्षा

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । विहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा( एसइई) को उत्तरपुस्तिका परीक्षण पनि उही दिनदेखि नै सुरु भएको छ । 


परीक्षा सकिएको बढीमा एक महिनाभित्रमा नतिजा सार्वजनिक गर्ने सरकारी  योजना अनुसार परीक्षा सुरु भएको दिन देखि नै उत्तरपुस्तिका परीक्षण पनि सुरु गरिएको हो । 
राष्ट्रिय परीक्षा बोर्डका अनुसार विहिबार परीक्षा भएको अनिवार्य अंग्रेजी विषयको केहि केन्द्रका उत्तरपुस्तिका विहिबार नै परीक्षण सकिएको छ ।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) विहिबारबाट सुरु भएको थियो । परीक्षाको पहिलो दिन सबै केन्द्रमा सौहार्दपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो ।

आज अनिवार्य नेपालीको परीक्षा छ। बोर्डका अनुसार परीक्षामा पाँच लाख १२ हजार चार सय २१ जना सहभागी भएका छन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा दश) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६ सय १३ जना छात्रा र दुई लाख ५४ हजार आठ सय एक जना छात्र छन् । 


परीक्षाको लागि एक हजार नौ सय ६६ केन्द्र तोकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । जसमध्ये नेपाली भाषाको पढाइ भइरहेको जापानको विद्यालयका लागि एउटा केन्द्र तोकिएको छ । उक्त केन्द्रबाट २३ जना परीक्षार्थी सहभागी भएका छन् । 
एसइई चैत २९ गतेसम्म सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । जस अनुसार परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो ।  


चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते  ऐच्छिक प्रथम खण्डका सबै विषयहरु र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुनेछ ।

चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षामा अनिवार्य विषयका प्रश्नपत्र प्रदेश अनुसार सात प्रकारकै रहेका छन् । यसैबिच यस पटक परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण पनि सुरु गरिएको छ ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार कतिपय केन्द्रले विहिबार परीक्षा भएको नेपाली विषयको उत्तरपुस्तिका परीक्षण समेत सकिसकेका छन् । यसपटक परीक्षा सकिएको बढिमा एक महिनाभित्रमा नतिजा प्रकाशन गर्ने योजना बोर्डले बनाएको छ ।

सोही योजना अनुसार उत्तरपुस्तिका परीक्षणको काम परीक्षा सम्पन्न भएकै दिनदेखि सुरु गरिएको हो । केही जिल्लाबाट विहिबार नै उत्तरपुस्तिका परीक्षण सकिएको जानकारी आएको अधिकारीले बताउनुभयो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको अधिकार दिइएको थियो ।

यसअघि भने एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गराउने गरिएको थियो । तर परीक्षा सम्पन्न भएको केन्द्रमै परीक्षण गराउँदा नतिजाको गोपनियता र निष्पक्षतामा सरोकारवालाले शंका गरेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार