काठमाडौं। संखुवासभाको मादीमा परिवारै सखाप हुने गरि भएको हत्यामा छिनजानकै व्यक्ति संलग्न रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि अरुले देखेका कारण आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरेको हो।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको हो। घटनास्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।
प्रहरीका अनुसार घटना बिहान ५ बजेदेखि ५ बजेर ४० मिनेटको बीचमा भएको देखिन्छ । किनभने घटना भएको दिन तेजबहादुरले आफ्नो बारीमा खेताला बोलाएका थिए । त्यसकारण तेजबहादुर बिहान ५ बजे नै बारीमा जान प्लाष्टिकको बुट जुत्ता लगाएर हिँडेका थिए । तर बाटो कुरेर बसेका वा जम्काभेट भएका हत्याराले आवेगमै तेजबहादुरमाथि आक्रमण गरेको हुनसक्ने घटनास्थलको अध्ययनले बताएको प्रहरीको भनाइ छ ।
त्यसपछि तेजबहादुरको चिच्याहट वा गुहारका कारण परिवारका अन्य सदस्यहरु पनि उनलाई बचाउन पुग्दा उनीहरु सबैमाथि आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । आफ्नो पहिचान खुल्ने डरले हत्याराले सबैको हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटना करिब २० मिनेटभित्रै भएको हुनसक्ने र त्यो समय भनेको बिहान ५ बजेदेखि ५: ४० को बीचमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार घरभन्दा करिब २५० मिटर टाढा रहेको खोल्सीमा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटिएको छ। त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको शव भेटिएको छ।
त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको शव भेटिएको छ। घटनास्थलको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मारेको हुनसक्ने अनुमान गरिएको छ। तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्कीलाई भने घरमै कुँडो पकाइरहेको अवस्थामा त्यहीँ नै आक्रमण गरेको पाइएको छ।