काठमाडौं । शैक्षिक सत्र सुरु नहुँदै विद्यालयहरुले विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ । विद्यालय सञ्चालकले भर्नाको नाममा रकम असुलेको गुनासो आएपछि त्यस्तो शुल्क तत्काल फिर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।
शुल्क फिर्ता गराउने प्रक्रिया तत्काल सुरु गर्न स्थानीय तहलाई निर्देशक दिँदै मन्त्रालयले फिर्ता नगरेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शैक्षिक सत्र प्रारम्भ हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क लिने कार्य गैर कानुनी र अशोभनीय रहेको बताए।
शैक्षिक सत्र सुरु नहुँदै भारी शुल्क लिएर विद्यालयले भर्ना गरेको थुप्रै गुनासा आएको मन्त्रालयले जनाएको छ । सापकोटाका अनुसार कुनै पनि विद्यालयले गैर कानुनी रुपमा शुल्क लिएको पाइएमा कडा कारवाही गरिनेछ ।
मन्त्रालयले आइतबार यस विषयमा जारी गरेको सुचनामा भनिएको छ, ‘कानुन विपरित असुल गरिएको भर्ना शुल्क सम्बन्धितलाई फिर्ता गराउने प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई अनुरोध गरिन्छ । अन्यथा प्रचलित कानुन बमोजिम कारवाही गरिनेतर्फ सचेत गराइन्छ ।’
विगतमा वैशाख दुई गतेबाट शैक्षिक सत्र सुरु हुन्थ्यो । यसपटक सरकारले वैशाख १५ गतेबाट मात्रै सुरु गर्ने निर्णय आइतबार मात्रै गरेको छ । तर राजधानीका नाम चलेका र महंगा भनिएका सहित मध्यम स्तरका विद्यालयले समेत विद्यार्थी भर्नाको सुचना सार्वजनिक गरिरहेका छन् ।
केहि दिन अघि सर्वोच्च अदालतले पनि शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना गर्न अन्तरिम आदेश दिएको थियो । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) बमोजिम लब्धांकपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयले भर्नाको सूचना प्रकाशन गर्न नुहने अदालतको आदेश थियो ।
कतिपय विद्यालयले त विद्यार्थी भर्ना समेत गरिसकेका छन् । प्रिमिएर स्कुलले विद्यार्थी भर्नाको सूचना वेवसाइट तथा सामाजिक सञ्जालबाट सार्वजनिक गरिसकेको छ । अन्य थुप्रै विद्यालयले विद्यार्थी भर्ना गराइरहेका छन् ।
वार्षिक परीक्षाको नतिजा समेत सार्वजनिक नहुँदै भर्ना गर्दा विद्यार्थी समस्यामा पर्ने गरेका छन् । कतिसम्म भने वार्षिक परीक्षाको शैक्षिक प्रमाणपत्र समेत हेर्न नपाउँदै विदालयले भर्ना खुलाउँदा समस्यामा पर्ने गरेको गुनासो विद्यार्थीले पटक गटक गर्दै आएका छन् ।