काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी कार्य समितिमा वस्तुगततर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
घिमिरे आफ्नो टिम नै बनाएर निर्वाचमा उत्रिएका छन् । घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले उम्मेदवारी दर्ता गराउँदै निर्वाचन तयारीलाई तिब्रता दिएको छ । घिमिरेले आफ्नो समूहमा सबै क्षेत्रलाई समेटेका छन् ।
घिमिरेबाट वस्तुगत संघ तर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रबिन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्की, बीउ–विजन क्षेत्रबाट बसन्त चन्द्र मरहट्टालाई समेटेका छन् ।
साथै, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धन प्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघु नन्दन मारुले पनि घिमिरेको समूहबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्लाईउड उत्पादन तथा निर्यात क्षेत्रबाट होम प्रसाद घिमिरे, फ्लोरिकल्चर –फूल खेती) उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट सङ्घर्ष बिष्ट, जुत्ता–चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै वस्तुगत महासंघ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट बिश्वनाथ खनाल र इटा उद्योग क्षेत्रबाट कृष्ण प्रसाद अवालले उम्मेद्वारी दिएका छन् ।
भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र सबै क्षेत्रको प्रतिनिधित्व भएकाले शिव प्रसाद घिमिरे नेतृत्वको यो समूह चुनाव जित्नेमा ढुक्क देखिएको छ।
उम्मेदवारहरूले महासंघलाई अझ प्रभावकारी, समावेशी तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त घिमिरेले गर्दै उद्योग–व्यवसायको विकास र निजी क्षेत्रको सुदृढीकरण आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । महासंघको ६० औं साधारणासभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ ।
उम्मेदवारी दर्तामा दुई दर्जनभन्दा बढी संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र वर्तमान अध्यक्ष चन्द्र ढकालको सदासयता रहेकाले यो समूहको जित सुनिश्चित रहेको समूहका सदस्य राजकुमार कार्कीले दाबी गर्नुभयो ।
उम्मेदवारी दर्ता कार्यक्रममा देखिएको उत्साह, समर्थकहरूको बाक्लो उपस्थितिले घिमिरे समुहको पक्षमा बलियो सर्थन रहेको देखिएको छ ।
भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको एसोसियट तर्फको उम्मेदवारी पनि दर्ता भएको छ । उपाध्यक्षमा प्रवलजंग पाण्डेको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ ।
वर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालले पनि पाण्डेकै समुहमा उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष ढकालको साथ घिमिरे र पाण्डे समुहलाई देखिएको छ ।