आइतवार, श्रावण २४ गते २०८३

सरकारी निर्णयले यसपटक जनक शिक्षालाई पाठ्यपुस्तक पुर्‍याउन हाइसञ्चो

बुधवार , चैत्र २५, २०८२


काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउन यसपटक जनक शिक्षा सामग्री केन्द्रलाई हाइसञ्चो भएको छ । एक त विगत केहि वर्षदेखि सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव करिव अन्त्य भएको थियो ।

जनक शिक्षाले यस पटक पनि विद्यार्थीलाई भर्ना भएकै दिन पुस्तक पुर्‍याउने गरि छपाई र ढुवानीलाई तिब्रता दिएको थियो । 
तर सरकारले यो वर्ष वैशाख १५ गतेबाट मात्र शैक्षिक सत्र सुरु हुने निर्णय गरेपछि जनक शिक्षालाई पुस्तक छाप्न तथा ढुवानी गर्न थप सजिलो भएको छ । 


पुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र नीजि मुद्रण संस्थाले विद्यालय तहको लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाई गरेर सम्बन्धित जिल्लामा पठाउन थालिसकेका थिए । अधिकांस जिल्लामा पुस्तक पुगिसकेको  केहीमा पुग्ने क्रममा रहेको छ । चैतको अन्तिम सातासम्मा पुस्तक सबै जिल्लामा पुगिसक्ने जनक शिक्षाले जनाएको छ । 


यसपटक सरकारले कक्षा तीन र पाँच देखि दशसम्मका विद्यार्थीको लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाईको जिम्मेवारी जनक शिक्षालाई दिएको छ । कक्षा एक, तिन र चारका विद्यार्थीको लागि आवश्यक पर्ने पुस्तक छपाईको जिम्मेवारी नीजि मुद्रण संस्थालाई दिइएको छ । 


सरकारी तथ्याङ्क अनुसार जनक शिक्षाले एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाई गर्नुपर्ने हुन्छ । नीजि मुद्रण संस्थाले भने ६० लाख थान पुस्तक छपाई गर्नुपर्ने हुन्छ । दुवै निकायले आफ्‌नो जिम्मेवारीमा रहेको पुस्तक छापेर ढुवानी समेत सुरु गरिसकेका छन् । जनक शिक्षाले पुस्तक छापेर चैत १६ गतेबाट ढुवानी समेत सुरु गरिसकेको छ । 


केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार सानोठिमीस्थित केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका आठ समेत गरेर नौ स्थानबाट पुस्तक बिक्रि भइरहेको छ । मुलुकभरका एक हजार दुई सय ५८ वटा अधिकृत बिक्रेताले आफूलाई पायक पर्ने बिक्रि केन्द्रबाट पुस्तक लगेको पौडेलले बताए । 


जनक शिक्षाले पुस्तक बिक्रेतालाई सुगम र दुर्गम जिल्ला अनुसार न्युनतम नौ प्रतिशतदेखि ४५ प्रतिशतसम्म कमिसन दिने गर्दछ । विगतमा टेण्डर, कागज खरिद, छापाखाना छनोट, वितरण, ढुवानीजस्ता प्रक्रियामा चलखेल हुँदा पुस्तक छपाईदेखि वितरणसम्ममा समस्या आउने गरेको थियो । अहिले यस्ता समस्याको करिब अन्त्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार