काठमाडौं । विद्यालयको शुल्क सम्बन्धी कुनै गुनासो भएम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सम्बोधन गर्ने भएको छ ।
यसको लागि मन्त्रालयले सम्पर्क व्यक्ति नै तोकेर फोन नम्बर र इमेल ठेगाना समेत सार्वजनिक गरेको छ । मन्त्रालयले अभिभावक तथा विद्यार्थीबाट प्राप्त भएका गुनासोलाई सम्बोधन गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरेको छ ।
कसैको गुनासो भएमा सोही कक्षमा फोन गरी विद्यार्थीको शुल्क सम्बन्धी गुनासोको रिपोर्टिङ तथा सहजीकरण र सहायता प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
यसको लागि मन्त्रालयले केन्द्रका निर्देशक निमप्रकाशसिंह राठौरलाई सम्पर्क व्यक्ति समेत तोकेको छ । विद्यार्थी, अभिभावक तथा सरोकारवालाले ९८५१२१४६३८ नम्बरमा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नेछन् ।
सरकारी निर्देशनलाई अटेरी गर्दै केहि नीजि तथा संस्थागत विद्यालयले विद्यार्थीबाट शुल्क उठाउने कार्यलाई निरन्तरता दिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पर्क व्यक्ति नै तोकेर समस्या समाधान गर्न लागेको हो ।
संस्थागत विद्यालय शुल्क तथा मापदण्ड सम्बन्धी निर्देशिका, २०७२ अनुसार विद्यार्थी जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको लागि तोकिएको एक महिनाको शुल्क बराबर शुल्क उठाउन पाइने उल्लेख गरेको छ ।
त्यस्तै सोही निर्देशिकाले विद्यार्थीले आफू अध्ययनरत विद्यालयमा एक पटक मात्रै भर्ना गर्नुपर्ने उल्लेख गरेको छ । तर मासिक शुल्कको दुई महिना बराबरको रकम वार्षिक शुल्कको रुपमा लिन पाउने निर्देशिकाका बुँदा नं. १४ मा उल्लेख गरेको छ ।