आइतवार, श्रावण २४ गते २०८३

कच्चा तेलको मूल्यमा गिरावट, नेपालमा अर्को साता घट्ने

कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ ।

बिहिवार , चैत्र २६, २०८२

काठमाडौँ। एक महिनादेखि निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराम गर्ने सहमति जनाएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको हो । 

कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो । 

अमेरिका र इरानबिच वार्ताका आधार तयार हुने सङ्केत मिलेसँगै आपूर्तिमा हुने अवरोध हट्ने विश्वासले इन्धनको मूल्य घटेको हो । यस्तै युद्धविरामको सहमतिसँगै महत्वपूर्ण हर्मुज जलमार्ग खुल्ने आशा बढ्दा तेलको मूल्य घटेको हो ।
कच्चा तेलको मूल्य घटेको र सरकारले इन्धन आयातमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएसँगै उपभोक्ताले भने एक सातापछि राहत पाउने छन् । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा त्यसको प्रभाव नेपालमा एक सातापछि देखिने छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार स्थानीय बजारमा मूल्य समायोजन हुने गर्छ ।

आइओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही अनुसार नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । 

निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले नेपालमा त्यसको प्रभाव एक सातापछि देखिने जानकारी दिए । “१ देखि १५ तारिखको औसत मूल्यका आधारमा आइओसीले नयाँ मूल्य पठाउने गर्छ,” कार्यकारी निर्देशक भट्टले भने, “मूल्य घटेर आएपछि स्थानीय बजारमा समेत मूल्य घट्छ ।”

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार