इस्लामावाद । लामो समयदेखि जारी सैन्य तनाव र द्वन्द्वका बिच इरान र संयुक्त राज्य अमेरिकाबिच आजदेखि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु हुँदैछ । पाकिस्तानको मध्यस्थतामा हुन लागेको यस वार्तालाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको निमन्त्रणामा दुवै देशका प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामावाद आइपुगेका छन् । अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बगेर गालिबाफले नेतृत्व गर्ने जनाइएको छ ।
एजेन्डाः वार्ताको मुख्य उद्देश्य दुई हप्ते युद्धविरामलाई स्थायी शान्तिमा बदल्नु, ’स्ट्रेट अफ होर्मुज’ मा अवरोध हटाउनु र इरानमाथिको आर्थिक प्रतिबन्धका विषयमा छलफल गर्नु रहेको छ । इरानले आफ्नो १० बुँदे प्रस्ताव अघि सारेको छ, जसमा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा र क्षेत्रीय सुरक्षाका विषय समावेश छन् ।
यद्यपि, दुवै पक्षबिच गहिरो अविश्वास कायमै रहेकाले यो वार्ता चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।
सुरक्षाका लागि इस्लामावादको ’रेड जोन’ मा सेना परिचालन गरिएको छ भने वार्ता अवधिभर सार्वजनिक बिदा समेत घोषणा गरिएको छ। यो संवादले मध्यपूर्वमा जारी अस्थिरता अन्त्य गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।