आइतवार, श्रावण २४ गते २०८३

इरान अमेरिका वार्ता –१५ घण्टा लामो छलफल निष्कर्षविहीन

आइतवार , चैत्र २९, २०८२

इस्लामावाद । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र युद्धको छायाका बीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको इरान र अमेरिकाबीचको ऐतिहासिक प्रत्यक्ष वार्ता बिना कुनै ठोस निष्कर्ष टुङ्गिएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक दुई देशका उच्च अधिकारीहरूबीच भएको यो आमने–सामने वार्तालाई विश्व समुदायले निकै चासोका साथ हेरेको थियो । शनिबार अपराह्न सुरु भएको यो वार्ता आइतबार बिहान ५ बजेसम्म, करिब १५ घण्टा निरन्तर चलेको थियो ।

वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी पक्षबाट संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ सहभागी थिए । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

अमेरिकी पक्षले इरानले परमाणु हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेको थियो। यता इरानले भने आफूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा हुनुपर्ने र लेबनानमा जारी इजरायली आक्रमण रोकिनुपर्ने अडान राखेको छ।

अमेरिकी उपराष्ट्रपति भान्सले होटल सेरेनामा आयोजित पत्रकार सम्मेलनमा भने, “दुर्भाग्यवश, हामी अझै सम्झौतामा पुग्न सकेका छैनौं । इरान हाम्रा सर्तहरू मान्न तयार देखिएन ।“ उता इरानी सञ्चारमाध्यमहरूले भने वार्ता रोकिनसकेको र मस्यौदाहरू आदानप्रदान भएको बताएका छन् ।

यसअघि चैत २५ (अप्रिल ७) मा दुई हप्ताका लागि घोषणा गरिएको अस्थायी युद्धविरामको समय सकिनै लाग्दा यो वार्ता निष्कर्षविहीन हुनुलाई चिन्ताको विषय मानिएको छ ।  हालका लागि वार्ता स्थगित भए पनि दुवै पक्ष दोस्रो चरणको छलफलका लागि तयार हुने अपेक्षा गरिएको छ। स्ट्रेट अफ हर्मुजमा कायम गतिरोध र क्षेत्रीय सुरक्षाका विषयमा अझै पनि अन्योल कायमै छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार