काठमाडौं । कीर्तिपुरस्थित आफ्नो जग्गामा बनेको ल्याबोरेटरी स्कुल त्रिभुवन विश्वविद्यालय आफैले सञ्चालन गर्ने भएको छ ।
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले सरकारलाई बुझाएको प्रतिवेदनमा उक्त जग्गा फिर्ता ल्याउनुपर्ने बताएको थियो ।
उक्त स्कुलले त्रविको सहमति नै नलिई आफूले भोगचलन गरेको जग्गा आफ्नो नाममा कायम गरिदिन मालपोत कार्यालय कलङ्कीमा निवेदन दिएकोसमेत जग्गा खोजविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
उक्त स्कुलले १०८ रोपनी त्रिविको जग्गा ओगटेको छ । तर जग्गा फिर्ता गर्न त्रिविले यसअघि स्कुललाई पटक पटक लिखित तथा मौखिक अनुरोध गरेपनि सम्भव भएको छैन । अब भने प्रतिवेदनले भने अनुसार तत्काल कार्यान्वयनमा जाने त्रिविले जनाएको छ ।
स्कुल नै बन्द गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउँनु व्यवहारिक नहुने भन्दै त्रिविले यसअघि नै स्कुल प्रशासनलाई छलफलमा बोलाएर यो प्रस्ताव गरिसकेको छ ।
त्रिविमा अध्ययनरत शिक्षा शास्त्र संकायका विद्यार्थीलाई अभ्यास शिक्षण गराउन समेत उपयोगी हुने भएकोले स्कुल सञ्चालन गर्ने योजना त्रिविले बनाएको हो ।
तर त्रिविको प्रस्तावमा स्कुलले कुनै प्रतिक्रिया दिएको छैन । अब निश्चित समय दिएर पत्राचार गरिने र उक्त समय अवधिमा पनि स्कुलले कुनै प्रतिक्रिया नदिएमा आफ्नो योजना अनुसार अघि बढ्ने त्रिविले जनाएको छ ।
यसअघि पनि २०७२ सालको भूकम्प आउनुअघिसम्म त्रिविले पटक पटक सार्वजनिक सूचना गरेर उक्त जग्गा छोड्न स्कुललाई निर्देशन दिएको थियो । तर उच्च राजनीतिक तथा प्रशासनिक पहुँचको भरमा स्कुलले उक्त जग्गा छोड्न मानेको छैन ।
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले १८ वटा धार्मिक तथा सामजिक संस्थाले विश्वविद्यालयको जग्गा अतिक्रमण गरेको प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो ।