काठमाडौं । विश्वविद्यालयहरुबाट विद्यार्थी संगठनलाई हटाउन विश्वविद्यालय परिसरमा अस्थायी तथा स्थायी सृुरक्षा युनिट स्थापना गराउनेदेखि विद्यार्थी संगठनका झण्डा तथा भित्ते लेखन हटाउनेसम्मका निर्णय गरिएको छ ।
विश्वविद्यालय अनुदान आयोगको संयोजनमा मुलुकमा सञ्चालित सबै विश्वविद्यालयका पदाधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव लगायत उपस्थित बैठकले यस्तो निर्णय गरेको हो ।
विश्वविद्यालयमा दलीय राजनीतिलाई निमूल पार्ने उद्देश्यका साथ सरकारले ल्याएको एक सय वटा शासकीय सुधारका बुँदामा यस विषयलाई प्राथमिकताका साथ राखिएको छ ।
सोही विषयलाई कार्यान्वयन गर्न विश्वविद्यालयले विद्यार्थी संगठनलाई उपलब्ध गराउँदै आएको कार्यालय तत्काल खाली गराउने र अबदेखि नदिने, विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनको झण्डा, ब्यानर तथा भित्ते लेखन हटाउने, विश्वविदालयको ऐनमा दलीय विद्यार्थी संगठनसम्बन्धी कुनै विषय भएमा त्यसलाई हटाउन तीन महलको प्रस्ताव तयार पारी तत्काल आयोगमार्फत शिक्षा मन्त्रालयमा पेश गर्ने लगायतका निर्णय बैठकले गरेका छ ।