आइतवार, श्रावण २४ गते २०८३

विद्यालय लामो बिदाले अभिभावकलाई सास्ती , छोराछोरी सम्हाल्न धौ–धौ

बुधवार , बैशाख ९, २०८३

काठमाडौँ । शैक्षिक सत्रको अन्त्यमा लामो विद्यालय बिदाका कारण विद्यार्थीहरू उत्साहित देखिए पनि अभिभावकहरूका लागि भने यो टाउको दुखाइको विषय बनेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको दिनचर्या अस्तव्यस्त हुने मात्र नभई कामकाजी अभिभावकहरूलाई उनीहरूको व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ ।

जागिर खाने वा व्यवसाय गर्ने अभिभावकहरूका लागि लामो बिदा “निल्नु न ओकल्नु“ भएको छ । बालबालिकालाई घरमा एक्लै छोड्न असुरक्षित हुने र सँगै कार्यस्थलमा लैजान नमिल्ने हुनाले धेरैले अफिसबाट बिदा लिनुपर्ने वा आफन्तको सहारा माग्नुपर्ने बाध्यता छ ।“हामी श्रीमान–श्रीमती दुवै अफिस जानुपर्छ। छोराछोरीको बिदा भएपछि उनीहरूलाई कसको जिम्मा लगाउने भन्ने सधैँको चिन्ता हुन्छ,“ ललितपुरकी एक अभिभावक सुनिता शर्मा भन्छिन् ।

बिदाको समयमा बालबालिकाहरू शारीरिक खेलकुदभन्दा पनि मोबाइल, ल्यापटप र टेलिभिजनमा बढी झुम्मिने गरेको पाइएको छ । घरमा खेल्ने साथी र उपयुक्त वातावरण नहुँदा उनीहरू प्रविधिको लतमा फस्दै गएका छन्, जसले उनीहरूको आँखा र मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको विज्ञहरूको बुझाइ छ । विद्यालय बिदा हुँदा घरमा बस्ने बालबालिकाको खाजा, मनोरञ्जन र बाह्य गतिविधिमा खर्च बढ्ने गरेको छ। कतिपय अभिभावकले छोराछोरीलाई व्यस्त राख्नकै लागि महँगा ’समर क्याम्प’ वा अतिरिक्त कक्षाहरूमा पठाउनुपर्ने बाध्यता छ, जसले पारिवारिक बजेटमा प्रत्यक्ष असर पारेको छ ।

लामो बिदापछि विद्यालय फर्कँदा बालबालिकाहरूले अघिल्लो पाठहरू बिर्सने र पुनः पढ्ने लयमा फर्कन समय लगाउने गरेको शिक्षकहरू बताउँछन् । यसले गर्दा शैक्षिक गुणस्तर र पाठ्यक्रम समयमै सकिने कुरामा पनि चुनौती थपिएको छ ।

विद्यालय र सम्बन्धित निकायले शैक्षिक क्यालेन्डर बनाउँदा अभिभावकको व्यावहारिक समस्यालाई पनि ध्यान दिनु जरुरी देखिन्छ । बिदालाई केवल ’छुट्टी’ को रूपमा मात्र नहेरी, बालबालिकालाई सिर्जनशील काममा लगाउने र अभिभावकलाई बोझ नहुने गरी व्यवस्थापन गर्न आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार