काठमाडौं। संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपित लोक बहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने कार्कीलाई चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो।
गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै रहेका थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति नाति हुन्।
जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस नभेटिएपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा उनी ‘अनकनाएर’ बोल्ने गरेका कारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेर घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाएको थियो।
अनुसन्धानको क्रममा लोकबहादुरको घरमा घटनामा प्रयोग भएको लुगा भेटिएपछिे प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो। बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीका अनुसार हत्या आरोपित लोक बहादुरको बयानमा उनले काका तेज बहादुरलाई मात्रै मार्ने सोँच बनाएपनि परिवारले देखेका कारण सबैको हत्या गरेको बताएका छन्।
के भएको थियो समबार ?
सोमबार उज्यालो भइसकेको थियो, तेजबहादुर र लोकबहादुरको घर डेढ सय मिटरमा दुरीमा पर्छ। साढे ५ देखि ६ बजेको समय। यकिन गरिनसकिएको यो समयमा लोकबहादुर आँगनमा निस्केका थिए। उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए।
तेजबहादुर खेताला खोज्न भन्दै घरबाट निस्केका थिए। तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको लोकबहादुरले प्रहरीलाई बताएका छन्।
तेजबहादुरले आफूलाई पहिला गालीगलौज गर्ने र हेप्ने गरेको लोकबहादुरले सम्झिएको बताएका छन्। त्यसपछि आँगनबाट दाउरो टिपेर उनी तेजबहादुरलाई हिर्काउन अगाडि बढेको र डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरे।
यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्। ‘ए यो लोकेले मार्यो भन्दै आउँदा उनलाई पनि हिर्काएको बताएका छन्। सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्। दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको बताएका छन्।
त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए। पार्वतालाई न्याकेर पहिले उनको टाउको भित्तामा दुई पटक ठोक्काएको र त्यसपछि दाउराले हिर्काएको लोकबहादुरले बताएका छन्।६ जनाको हत्या गरिसक्दा पनि बौद्धमानले थाहा नपाएपछि उनलाई त्यतिकै छोडिदिएको लोकबहादुर प्रहरीसँग बताएका छन्।