काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् ।
पछिल्लो समय सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको उनको भनाइ छ ।
‘सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ,’ पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत् आमनागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेरमात्रै समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने सुझाव उनले दिएका छन् ।