काठमाडों । उद्योगी–व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता घटनाक्रमहरूले निजी क्षेत्रमाथि अनावश्यक दबाब र भयको वातावरण सिर्जना गराएको बताउँदै संघका अध्यक्ष दिनेश श्रेष्ठले विज्ञप्ति जारी गरेर व्यावसायिक वातावरणमा असर गर्ने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई अनावश्यक रूपमा दुःख, हैरानी तथा मानमर्दन हुने गरी हिरासतमा राखी अनुसन्धान गरिएको पनि संघले आरोप लगाएको छ ।
सरकारको यस्ता कार्यप्रति कडा विरोध गर्दै संघले विज्ञप्तिमा भनेको छ, ‘ यस संघको स्पष्ट धारणा छ—दोषी कोही उम्कनु हुँदैन, तर निर्दोषमाथि अन्याय पनि हुनु हुँदैन ।’ विशेष गरी वित्तीय प्रकृतिका अभियोग र फौजदारी अभियोगलाई फरक व्यवहार हुनुपर्ने पनि संघले बताएको छ ।
‘जोखिम लिएर देशमा लगानी रहेकै अवस्थामा स्थान छोडेर जान सम्भावना नभै हिरासत राख्न हुँदैन’ संघले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्ता प्रकृतिका मुद्दामा पहिला सम्बन्धित पक्षलाई सुन्ने, अनुसन्धानमार्फत तथ्य प्रमाणित गर्ने र दोष पुष्टि भएपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने विधि अवलम्बन गरिनु आवश्यक छ ।’
हाल देखिएको अभ्यास अनुसार अनुसन्धानकै क्रममा उद्योगी–व्यवसायीहरूलाई थुनामा राख्ने, बैंक खाता रोक्का गर्ने तथा व्यवसायिक गतिविधि अवरुद्ध गर्ने कार्यले समग्र आर्थिक वातावरणमा नकारात्मक असर गर्ने संघको ठहर छ ।
‘यसले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै लगानीमैत्री वातावरणलाई समेत प्रभावित बनाउँछ’ विज्ञप्तिमा भनिएको छ, ‘अतः देशभरका सम्पूर्ण उद्योगी–व्यवसायीहरूलाई एकजुट भई आफ्नो हक, अधिकार र सम्मानको संरक्षण गर्न आग्रह गर्दै समग्र निजी क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानको कदर जरुरी रहेकोले राज्यले यथाशिघ्र अविलम्ब हिरासतमुक्त गरी हाजिरी जमानीमा अनुसन्धानको माग गर्दछ ।’