बुटवल । गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणमा जोडिएका बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक सिल गरिएको छ ।
यस्तै डा. सतिश रूपाखेतीलाई बिरामी चेकजाँच गर्न प्रतिबन्ध लगाइएको छ । डा. सम्राट पराजुली नेतृत्वकाको छानबिन समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।
सोही प्रतिवेदनको आधारमा क्लिनिक सिल र डाक्टरलाई निलम्बन गरिएको हो । मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।
मेडिकललाई कारबाही सिफारिस गरेपनि खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्रीका बारेमा भने प्रारम्भिक प्रतिवेदन केही पनि बोलेको छैन । मृतक गीताका पति प्रकाश पाण्डेले खत्रीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
गर्भपतनका लागि नर्सिङ होम र क्लिनिक गरी तीनवटा स्वास्थ्य संस्था धाउँदा–धाउँदै वैशाख ६ गते गीताको ज्यान गएको थियो ।
मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन् । पति प्रकाश पनि अधिकृत स्तरको सरकारी कर्मचारी हुन् ।