शुक्रवार, आश्विन १६ गते २०८३

मन्त्री सीता बादीले सार्वजनिक गरिन् नगर्ने १० कामको सूची

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले पद सम्हालेको करिब पाँच हप्ताको अनुभव र आफ्ना प्रतिबद्धता सार्वजनिक गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत १० बुँदामा आफ्नो कार्यकालमा गर्ने र नगर्ने कामहरूको स्पष्ट सूची प्रस्तुत गरेकी हुन्।

मन्त्री वादीले आफूले कुनै पनि राजनीतिक दबाब, भनसुन वा ‘भोट दिएको आधार’ मा काम नगरेको र सबै नागरिकलाई समान रूपमा सेवा दिएको दाबी गरेकी छन् । उनले विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

उनका अनुसार सुशासन केवल सरकारको नीतिले मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने बताउँदै उनले नागरिकका दुःख–अप्ठ्यारोमा आफैंसँगै उभिने प्रयास गर्ने उल्लेख गरेकी छन् ।

मन्त्री वादीले सार्वजनिक गरेको १० बुँदे प्रतिबद्धतामा नातागोता, चिनजान वा सम्बन्धका आधारमा नियुक्ति, सरुवा–बढुवा नगर्ने, कानुनविपरीत भनसुन वा शक्तिको दुरुपयोग नगर्ने, तथा गलत काम गर्ने व्यक्तिको संरक्षण नगर्ने उल्लेख छ ।

त्यस्तै उनले लागूऔषध, ठगी, जालसाजी, कुटपिट र तस्करीजस्ता अपराधमा संलग्नलाई कुनै पनि हालतमा संरक्षण नगर्ने प्रतिबद्धता जनाएकी छन् ।

भ्रष्टाचार र कमिसनखोरीप्रति शून्य सहनशीलता अपनाउने भन्दै उनले घुस नलिने र त्यस्ता गतिविधिविरुद्ध कडा रूपमा उभिने बताएकी छन्।

उनले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध दृढ रूपमा लड्ने उल्लेख गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार