काठमाडौं । शिक्षा क्षेत्रमा मुलुकको कुल बजेटको २० प्रतिशत विनियोजन गर्ने गरि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता जनाएपनि कार्यानवयन नभएको यस क्षेत्रका सरोकारवालाले गुनासो गरेका छन् ।
शिक्षामा कुल बजेटको २० प्रतिशत लगानीका विषयमा छलफल गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका ह’न् । कार्यक्रमका सहभागी वभिन्न दलका सांसद तथा यस क्षेत्रका जानकारहरुले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग गुणस्तर वृद्धिमा हुनुपर्नेतर्फ जोड दिए ।
कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग शिक्षाको गुणस्तर वृद्धिमा हुनुपर्ने बताईन् ।
कुल बजेटको २० प्रतिशत शिक्षामा खर्च गर्नुपर्ने माग जायज भएपनि त्यति बजेट छु्ट्टयाएपछि गुणस्तर वृद्धिमा के प्रगति हुन्छ भन्ने विषय स्पष्ट नभएको बताउँदै कार्कीले भनिन्, ‘उसो भए अहिले दश प्रतिशत बजेट छुट्टयाउँदा पचास प्रतिशत गुणस्तर कायम भएको छ त ? यस विषयमा गम्भीर परामर्श हुनु जरुरी छ ।’
अहिले विद्यालय शिक्षाको मुख्य समस्या अति राजनीति भएको र यसलाई रोक्नुपर्ने समेत सो कार्यक्रममा कार्कीले बताइन् । रास्वपाकै सांसद हरिप्रसाद भूसालले विद्यालय शिक्षामा शिक्षकहरु राजनीतिक रुपमा निकै बलिया रहेको र यसको असर शिक्षाको गुणस्तरमा परेको बताए ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका सदस्य रहनुभएका प्रमिला गच्छदारले विद्यालय शिक्षामा लगानी बढाउनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको बताईन् । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका गुरु बरालले सार्वजनिक विद्यालयलाई विद्यार्थीको रोजाईको गन्तव्य बनाउनुपर्ने तर लगानीको मोडालिटीको विषयमा पनि वहस हुनुपर्ने बताए ।
छलफल कार्यक्रमका सहभागीहरु ।
विद्यालय शिक्षाको गुणस्तर उकास्न र योग्य व्यक्तिलाई शिक्षण पेशामा आकर्षण बढाउन पुराना शिक्षकलाई गोल्डेन ह्यान्डसेकको व्यवस्था गर्नुपर्ने बताउनुभयो । साथै, विद्यार्थी कम भएका विद्यालयलाई एक आपसमा गाभ्नुपर्ने उनले स’झाव दिए ।
श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले विद्यार्थीलाई पढाईसँगै सिपमुलक ज्ञान पनि दिनुपर्ने र त्यसको लागि आवश्यक बजेट राज्यले व्यवस्था गर्नुपर्ने बताइन् । बागमती प्रदेश सभाका सदस्य हरिप्रभा खड्गीले बालबालिकाको आवश्यकतालाई हेरेर शिक्षा बजेट वृद्धि हुनुपर्ने बताइन् ।
पूर्व सचिव डा. महाश्रम शर्माले मुलुकको भैगोलिक अवस्थिति अनुसार विद्यालय शिक्षाको बजेट पनि फरक फरक हुनुपर्ने बताए । पूर्वसचिव डा. हरिप्रसाद लम्सालले शिक्षा क्षेत्रको बजेट वितरणमा पुनसंरचना जरुरी रहेका बताए । एनसिईका अध्यक्ष लवराज ओलीले नयाँ सरकार गठनसँगै शिक्षामा लगानी वृद्धि हुनेमा सरोकारवाला आशावादी रहेको धारणा व्यक्त गरे ।