आइतवार, श्रावण २४ गते २०८३

विद्यालयका प्रधानाध्यापक र लेखापाल मिलेर झण्डै एक करोड अनियमितता,दुवै विरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार , बैशाख १६, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 


विद्यालयको भवन निर्माण तथा विभिन्न शीर्षकको रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध  मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

 
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालयको नमुना भवन निर्माणका क्रममा वास्तविक मूल्याङ्कनभन्दा बढीको झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको पाइएको छ । नगरपालिका र परामर्शदाताको प्राविधिक मूल्याङ्कन अनुसार भवनको कुल लागत १ करोड ४८ लाख ५३ हजार २३५ रुपियाँ ८ पैसा हुनुपर्नेमा विद्यालयबाट २ करोड ७ लाख ७९ हजार ९२२ रुपियाँ भुक्तानी भएको देखिएको आयोगले जनाएको छ ।

 
यसरी भवन निर्माणको नाममा मात्रै ५९ लाख २६ हजार ६८६ रुपियाँ ९२ पैसा बढी भुक्तानी गरी भ्रष्टाचार गरिएको आयोगको दाबी छ । अनुसन्धानका क्रममा प्रधानाध्यापक र लेखापालको मिलेमतोमा आर्थिक वर्ष २०७७÷७८ देखिको नगद मौज्दातमा १६ लाख ६० हजार १०१ रुपियाँ १९ पैसा बेरुजु देखिएको छ । साथै, विद्यालयको १७ लाख ९६ हजार ५२१ रुपियाँ ६१ पैसा नगद रकम उनीहरूले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको समेत पुष्टि भएको छ ।


आयोगले दुवै प्रतिवादीउपर कुल ९३ लाख ८३ हजार ३०९ रुपियाँ ७२ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ । 
 

प्रतिक्रिया
सम्बन्धित समाचार