आइतवार, श्रावण २४ गते २०८३

एसइई नतिजा तयारी अन्तिम चरणमा– काम सकिए भोली, नत्र पर्सी

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्कलाई रुजु गर्ने काम सकिएको छ । अहिलेकै अनुमान अनुसार काम भयो भने वैशाख २८ वा २९ गते नतिजा सार्वजनिक गर्न सकिन्छ । 

विगतमा परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले भने, “परीक्षा सकिएको मितिले एक महिनाभित्रमा नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो । त्यस हिसाबले भन्ने हो भने वैशाख २९ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ ।” अहिलेसम्मको कार्यप्रगति हेर्दा लक्ष्य अनुसार नै काम हुने अधिकारीले बताए ।

नयाँ सरकार गठन भएपछि सुरु भएको एसइईको नतिजा सुरुमा त १५ दिनभित्रमै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो तर निकै नै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्रमा सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबिच छलफल भएको थियो । 

नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसइईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो । 

एसइई चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् । 

परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको थियो । परीक्षामा नेपाली भाषाको पढाइ भइरहेको जापानको विद्यालयका लागि एउटा केन्द्र तोकिएको थियो । त्यहाँबाट २३ जना परीक्षार्थी सहभागी छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार