काठमाडौँ ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो ।
उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८स्३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ । यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’मा समावेश छ ।
सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो ।
‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ,’ मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ ।
मार्गदर्शनअनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्नेछ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरिनेछ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राखिनेछ ।