आइतवार, श्रावण २४ गते २०८३

एसइई नतिजा केहिबेरमा, कसरी हेर्ने ?

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा केहि बेरमा सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्नको लागि अहिले बोर्ड बैठक बसिरहेको छ ।  

विगतमा परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले भने, “परीक्षा सकिएको मितिले एक महिनाभित्रमा नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो । त्यस हिसाबले भन्ने हो भने वैशाख २९ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेका थियौं । तर आज नै नतिजा सार्वजनिक सम्भव भयो ।” 

नयाँ सरकार गठन भएपछि सुरु भएको एसइईको नतिजा सुरुमा त १५ दिनभित्रमै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो तर निकै नै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्रमा सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबिच छलफल भएको थियो । 

नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसइईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो । 

एसइई चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् । 

परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको थियो । परीक्षामा नेपाली भाषाको पढाइ भइरहेको जापानको विद्यालयका लागि एउटा केन्द्र तोकिएको थियो । त्यहाँबाट २३ जना परीक्षार्थी सहभागी छन् । 

कसरी हेर्ने नतिजा  ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार