काठमाडौँ । हालै सम्पन्न कक्षा १२ को परीक्षा अघि नै सामाजिक सञ्जालबाट प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको ‘साइबर ब्युरो’को टोलीले दुई जनालाई फत्रउा गरेको छ । पक्राउ गरेर प्रहरीले उनीहरुलाई सोमबार सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही तथा धादिङ्को नीलकण्ठ नगरपालिका–३ घर भई हाल काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ रहेको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
‘राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समय अगावै बाहिरिएको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डको पत्र यस ब्युरोमा प्राप्त भई गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट कक्षा १२ व्यवस्थापन मात्र भन्ने ‘वाट्सप ग्रुप’ तथा ‘फेसबुक मेसेन्जर’ लगायतमा विभिन्न ग्रुप निर्माण गरी उत्तरसहित प्रश्नपत्रसमेत बाहिर ल्याई प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो’ उनले भने ।
उनीहरूलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले बताए ।