बुधवार, आश्विन १४ गते २०८३

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

बुधवार , बैशाख ३०, २०८३

दमौली । तनहुँको देवघाट गाउँपालिका–४ मा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड ले सुरुङ निर्माणका लागि आर।के। हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि, काठमाडौंसँग ठेक्का सम्झौता गरेको हो ।

आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार विसं २०८० फागुन ७ गते ठेक्का सम्झौता सम्पन्न भए पनि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा निर्माण कार्य केही समय प्रभावित भएको थियो । आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण सुरु गरिएको उनले बताए ।

श्रेष्ठका अनुसार प्रवेश सुरुङ आयोजना निर्माणका लागि आवश्यक भूगर्भीय अध्ययन, अन्वेषण तथा पहुँच मार्गका रूपमा महत्वपूर्ण रहनेछ ।

पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धजलाशययुक्त यस आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ । ३२ मिटर उचाइको बाँधबाट करिब १२ दशमलव ७ किलोमिटर लामो जलाशय बन्नेछ । सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट गाउँपालिका–४ को गाईघाटस्थित अर्धभूमिगत विद्युत्गृहमा पु¥याइने योजना रहेको छ ।

उनका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो । आयोजनाको अनुमानित कुल लागत २२७ मिलियन अमेरिकी डलर रहेको छ । कुल लागतको ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत आयोजना निर्माण गर्ने अवधारणागत निर्णय नेपाल विद्युत् प्राधिकरणले गरिसकेको उनले जानकारी दिए ।

विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया पनि सुरु गरिएको छ । आवश्यक बजेट विनियोजन भएपछि उक्त प्रक्रिया अघि बढाइएको श्रेष्ठले बताए ।

आयोजना सञ्चालनमा आएपछि हिउँदयाममा दैनिक न्यूनतम ६ घण्टा १२६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट निस्कने पानीको पूर्ण उपयोगका लागि तल्लो सेती आयोजना महत्वपूर्ण ‘क्यास्केड’ आयोजना हुने श्रेष्ठको भनाइ छ ।

उनले तनहुँ जलविद्युत् आयोजनाकै प्रसारण लाइन प्रयोग गर्न सकिने भएकाले थप प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता नपर्ने बताए । साथै आयोजना काठमाडौं र भरतपुरजस्ता प्रमुख लोड सेन्टर नजिक रहेकाले यो आयोजना लागत प्रभावी र व्यावसायिक रूपमा उपयुक्त हुने उनको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार