काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।
खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उनीहरुले माग गरेका हुन् ।
सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताएका छन् । उनले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।
सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले सीमापारिबाट सामान ल्याउनेभन्दा नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताएका छन् ।
सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको सुर्खेतको बाङ्गेसिमलदेखि जुम्ला खलङ्गासम्मको यात्रालाई सुरक्षित बनाउन माग गरेका छन् । यो सडकमा बढ्दो सवारी दुर्घटनाबाट हुने मानवीय क्षति घटाउनुपर्ने उनको सुझाव थियो ।