काठमाडौँ । खोलानाला, नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत मिचिएको (अतिक्रमणमा परेको) पाइएको छ । सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो ।
सिंहदरबारको जग्गा सडक विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रबाटै मिचेर अतिक्रमण गरिएको हो । अनामनगरतर्फको सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी छ आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ । सिंहदरबारतिरबाट मात्र एकतर्फी जमिन लिएर सडक विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो ।
काठमाडौँ महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले २०४९ सालमा गठन गरेको ‘सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ रावल आयोगको प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमण भएको पाइएको हो ।
कुल ६९३ रोपनी नौ आना क्षेत्रफलको सिंहदरबारबाट ४६ रोपनी छ आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औँल्याइएको छ ।