झापा । चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीका कारण जनस्वास्थ्य समस्या बढ्ने खतरा देखिएको भन्दै तत्काल आयोडिनविहीन नुनको बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले नेपाल–भारत खुला सीमाका कारण यहाँका सुपरमार्केट तथा खाद्यान्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आम उपभोक्ताको स्वास्थ्यमा असर पार्ने यस्ता नुन बजार अनुगमन गरेर जफत गर्न तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।
सरकारले नुन बिक्रीवितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड र गुणस्तरअनुसार आयोडिन नभएको नुन बिक्री हुन थालेको र यसले भविष्यमा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्या जटिल बन्न सक्ने उनीहरूको तर्क छ ।
बालरोग विशेषज्ञ डा टङ्क बह्राराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढे विशेषगरी बालबालिका र गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी’ कार्यक्रममा उनले भने, “आयोडिनविहीन नुनको प्रयोग बढे आयोडिनको कमीबाट हुने जनस्वास्थ्य समस्याको जोखिम देखिन सक्छ । यसलाई गम्भीर रूपमा लिनुपर्छ । तत्काल आयोडिनविहीन नुनको बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्छ ।”
उनका अनुसार श्रीलङ्काले अहिले आयोडिनविहीन नुनका कारण उत्पन्न जनस्वास्थ्य समस्या भोगिरहेको छ । यस्तो अवस्था नेपालमा आउन नदिन समयमै सतर्क हुनुपर्ने उनले बताए ।
सरकारले २०८२ साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीवितरण गर्न बाटो खुला गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँले गत वैशाख ४ गते ‘हिमालयन पिङ्क रक साल्ट’ परीक्षण गर्दा आयोडिन नभेटिएको प्रतिवेदन सार्वजनिक गरेको जनाइएको छ ।
यहाँका बजारमा ‘ब्ल्याक साल्ट’ नामका भारतीय गुणस्तरहीन तथा मापदण्डविपरीतका नुन खुला रूपमा बिक्री भइरहेको बताइएको छ । भारतीय सरकारले नुनमा उत्पादन तहमा ३० पिपिएम र भान्सासम्म पुग्दा १५ पिपिएम आयोडिन हुनुपर्ने मापदण्ड तोकेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपाल सरकारले २०५७ माघ २३ देखि आयोडिनयुक्त नुनमा उत्पादन तहमा ५० पिपिएम, बिक्री गर्ने स्थानसम्म आइपुग्दा ३० पिपिएम र उपभोक्ताले प्रयोग गर्दासम्म कम्तीमा १५ पिपिएम आयोडिन हुनुपर्ने नियम लागू गर्दै आएको छ ।
चिकित्सकका अनुसार आयोडिनयुक्त नुनमा जलांश अधिकतम ६ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत र पानीमा नघुल्ने पदार्थ अधिकतम १ प्रतिशत हुनुपर्छ । यदि सोडियम क्लोराइड ९६ प्रतिशतभन्दा कम भए रक्तचापसम्बन्धी समस्या हुन सक्छ ।
पूर्वअतिरिक्त सचिवसमेत रहेका डा बह्राराकोटीका अनुसार आयोडिन शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने सूक्ष्म पोषक तत्व हो । यसले थाइरोइड ग्रन्थीबाट हर्मोन उत्पादन गर्न मद्दत गर्छ । कोशिकाको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न तथा शारीरिक र मानसिक विकासका लागि आवश्यक हर्मोन उत्पादनमा आयोडिनको महत्वपूर्ण भूमिका हुन्छ ।
उनले भने, “बालबालिका र गर्भवतीलाई आयोडिनयुक्त नुन अत्यावश्यक हुन्छ । यस्तो अवस्थामा दुई बालबालिका अङ्कित चिन्ह भएको आयोडिनयुक्त नुन सही मात्रामा प्रयोग गर्नुपर्छ ।”
सरकारले पनि ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देशसहित दुई बालबालिका अङ्कित चिन्ह भएको आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास कमजोर हुने, पढाइमा समस्या आउने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने तथा शारीरिक विकासमा असर पर्ने बताए ।
उनका अनुसार वयस्कमा आयोडिनको कमी हुँदा गलगाँड, थाइराइड, मानसिक तथा शारीरिक क्षमतामा कमी देखिन सक्छ । न्यूरोलोजिकल क्रेटिनिज्म, थाइराइड क्यान्सर, प्रजनन क्षमतामा ह्रास तथा गर्भपतनजस्ता समस्या पनि आयोडिनको कमीका कारण हुन सक्छन् ।
उनले भने, “यस्ता समस्या कम गर्न साल्ट ट्रेडिङ कर्पोरेशनको दुई बालबालिका अङ्कित चिन्ह भएको आयोडिनयुक्त नुन सही मात्रामा प्रयोग गर्नुपर्छ ।”
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले बजार अनुगमन गरेर स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने आयोडिनविहीन नुन बिक्री हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्, “दुई बालबालिका अङ्कित चिन्ह भएको आयोडिनयुक्त नुन सही रूपमा प्रयोग गर्नेबारे जनचेतना फैलाउनुपर्छ ।”
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले भन्सार नाकाबाट नुन आयातमा कडाइ गरिने र आयोडिनविहीन नुन बिक्री रोक्न बजार अनुगमन गरिने बताए । उनका अनुसार व्यापारीहरूले अन्य प्रयोजन देखाएर नुन आयात गर्ने गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व भएको आयोडिनयुक्त नुन प्रयोगबारे जनचेतना आवश्यक रहेको बताए ।
उनले भने, “नुन आयातका लागि अनुमति नदिए पनि बजारमा आयोडिनविहीन नुन भेटिन्छ । यसलाई निरुत्साहित गर्नुपर्छ ।”रासस