काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
एपीजीका प्रतिनिधिसँगको छलफलमा मन्त्री वाग्लेले सबै सम्भव उपाय अपनाएर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताए । प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उनले जनताको मुख्य अपेक्षा पनि सुशासन नै रहेको धारणा राखे । नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका कामको अनुभूति जनताले गर्न थालेको उनको भनाइ थियो ।
उनले ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने काम सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिए । पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकमा नेपालको अवस्था सुधारिएको पनि उनले बताए ।
कार्यक्रममा एपीजीका उपकार्यकारी सचिव डेभिड शाननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै धेरै काम गर्न बाँकी रहेको टिप्पणी गरे । छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत निकायका अधिकारीहरूको सहभागिता थियो ।
वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । उक्त सूचीबाट बाहिरिन नेपालले १५ बुँदे सुधार कार्ययोजना कार्यान्वयन गरिरहेको छ ।