आइतवार, श्रावण २४ गते २०८३

पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउन स्वदेशी उत्पादकलाई आवेदन दिन आह्वान

बुधवार , जेठ ६, २०८३

काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाएको छ।
 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गत २८ फागुन नेपाल राजपत्रमा प्रकाशित “पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२” अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया सुरु गर्ने भएको हो।

राजपत्रमा उल्लेख गरिएको गुणस्तर तथा विधिअनुसार उत्पादन गरिएको पेट्रोलमा मिसाउन योग्य इथानोल नेपाल आयल निगमले खरिद गर्ने जनाएको छ। यस सम्बन्धी विस्तृत विवरण निगमको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। उत्पादन तथा आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूले निगममा निवेदन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयको सुुचना अनुसार  इथानोल उत्पादनका लागि विभिन्न जैविक तथा कृषि स्रोतका कच्चा पदार्थ प्रयोग गर्न सकिनेछ। जसमा चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको ढोड, गहुँको छवालीजस्ता कृषि अवशेष, खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेका अन्न, सिमल तरुल (कास्साभा) तथा किण्वन (फर्मेन्टेसन) प्रक्रियामा आवश्यक मर्चा (यीस्ट) र अन्य रसायन समावेश छन्।

तर, खाद्यान्नका रूपमा प्रयोग हुने अन्नलाई इथानोल उत्पादनको कच्चा पदार्थका रूपमा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

नेपाल सरकारले पेट्रोलमा इथानोल मिश्रणको प्रयोगलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन, पेट्रोलियम पदार्थको आयात न्यूनीकरण तथा वातावरणीय प्रदूषण नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण कदमका रूपमा अघि बढाएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार