बुधवार, आश्विन १४ गते २०८३

भारतमा चिया निर्यातमा देखिएको अवरोध हट्यो

बुधवार , जेठ ६, २०८३


काठमाडौं । भारत सरकारले आयातित चियाको अनिवार्य परीक्षणसम्बन्धी व्यवस्था संशोधन गरेपछि चिया निर्यातमा देखिएको  समस्या हटेको छ । 
 चिया पुनः निर्यात हुनेभारतको टी बोर्ड इण्डियाले आयातित चियाको परीक्षणसम्बन्धी मापदण्डमा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको छ । यो नयाँ निर्देशन सँगै भारततर्फ निर्यातमा भएको अवरोध तत्कालको लागि हटेको छ ।

भारतले मे १ तारिखदेखि लागु हुने गरी चियाको निर्यातमा नयाँ व्यवस्था गरेको थियो । यसले गर्दा पछिल्लो १ तारिखदेखि बुधबार सम्म गरी २० दिनमा भारततर्फ नेपालबाट चिया निर्यात भएको थिएन् ।

भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत रहेको बोर्डले २०२६ मे १९ मा ‘कोरिजेन्डम दोश्रो’ जारी गर्दै चिया आयातसम्बन्धी परीक्षण प्रक्रियाको बिषयमा नयाँ निर्देशन जारी गरेको छ ।

बोर्डले यसअघि २०२६ फेब्रुअरी १० मा जारी गरेको निर्देशिका तथा अप्रिल २ को संशोधनअनुसार १ मे २०२६ देखि सबै आयातित चियाको अनिवार्य परीक्षण सुरु गरिएको जनाएको छ ।

जारी संशोधनअनुसार पुनःनिर्यातका लागि आयात गरिने सबै चियाको गुणस्तर सुनिश्चित गर्न टी बोर्ड इण्डियामार्फत अनिवार्य परीक्षण गरिने व्यवस्था गरेको छ । यस्तो परीक्षण फेब्रुअरी १० मा जारी गरिएको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ अनुसार हुने उल्लेख छ ।

यस्तै नयाँ व्यवस्थाको दोश्रो क्लाउजअनुसार, भारतभित्र आन्तरिक बिक्रीका लागि मात्रै आयात गरिने चियाको हकमा भने भन्सार र एफएसएसएआईले आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार नमुना संकलन गरी परीक्षण प्रक्रिया निरन्तर गर्ने निर्णय गरिएको छ ।

तेस्रो क्लाउजअनुसार बोर्डले आन्तरिक बिक्रीका लागि आयात गरिएका चियाको परीक्षण हालका लागि टी बोर्ड इण्डियाले नगर्ने पनि स्पष्ट पारेको छ । यससम्बन्धी औपचारिक निर्देशन वा स्पष्टिकरण एफएसएसएआईबाट जारी नभएसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ ।

नेपाल चिया एशोएिसनका अध्यक्ष कमल मैनालीका अनुसार बोर्डले मंगलबार गरेको ‘कोरिजेन्डम दोश्रो’ व्यवस्थाअनुसार क्लाउज दुई र तेश्रोअनुसार नेपालबाट भारततर्फ भइरहेको चियाको निर्यात प्रक्रिया सहज भएको छ ।

‘क्लाउज दोश्रो र तेश्रोअनुसार अब नेपाली चियालाई भारतीय बजारमा निर्यात गर्न कुनै अवरोध सिर्जना नहुने भएको छ, अब दोश्रो र तेश्रो क्लाउजअनुसार सहज रुपमा भारतमा निर्यात हुनेछ,’ मैनालीले भने ।

त्यसैगरी एसओपीको बुँदा नम्बर ११ पनि संशोधन गरिएको छ । अब सम्बन्धित प्रयोगशालाले नमुना प्राप्त भएको मितिले पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार