काठमाडौं । कर्मचारीको तलब कम्तिमा पनि तीन तीन वर्षमा बढाउनुपर्ने नियम छ । तर अहिले आर्थिक वर्ष २०७९।०८० मा १५ प्रतिशत तलब बढेको थियो । त्यसपछि बढेको छैन । यसपटक भने कर्मचारीहरु तलब बढ्ने आशामा रहेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी गरिरहँदा आफूहरुको तलब कति बढ्ला भनेर कर्मचारीहरुले निकै चासो दिइरहेका छन् । तीन तीन वर्षमा कर्मचारीको तलब बढाउने व्यवस्था भएपनि त्यो कार्यान्वयनमा नआएको भन्दै कर्मचारी असुन्तुष्ट बनेका छन् । महंगी बढिरहादा तलब वृद्धि नहुँदा खर्च धान्नै मुस्किल भएको सरकारी कर्मचारीको समेत गुनासो छ ।
तीन वर्षअघि नै २०७९ फागुनमा उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको थियो । जुन अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
निजामती सेवाको सबैभन्दा उच्च ओहदा हो मुख्य सचिव। मुख्य सचिवको सुरु तलब हुन्छ ७७ हजार २ सय ११ रुपैयाँ । यसबाहेक ग्रेडसमेत जोड्दा मुख्य सचिवको मासिक कमाइ न्यूनतम ८२ हजार ३ सय ५९ पुग्छ। यसमा मुख्यसचिवले पाउने भत्ता र अन्य सुविधाको गणना छैन ।
निजामती सेवाकै सबैभन्दा कनिष्ठ ओहदा हो, कार्यालय सहयोगी । कार्यालय सहयोगी प्रथमस्तरको सुरू तलब भने जम्मा २४ हजार ७ सय दुई रुपैयाँ छ । ग्रेड थपिँदा कार्यालय सहयोगीको तलब २६ हजार ३ सय ४८ पुग्छ । यहि तलबले कर्मचारीले घर खर्च, बालबच्चाको शिक्षा र उपचारसँगै दैनिक खर्च चलाउनुपर्छ ।