काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि आहार पूरक खाद्य पदार्थ दर्ता नभएको र यसको बिक्रीवितरणका लागि अनुमति नदिएको स्पष्ट पारेको छ ।
विभागले विज्ञप्तिमार्फत विभिन्न सामाजिक सञ्जालमा यस पदार्थबारे प्रकाशित भ्रामक समाचार तथा प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था तथा आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ को प्रावधानबमोजिम फुड, हेल्थ, न्युट्रिसनल वा डाइटरी सप्लिमेन्ट, न्युट्रास्युटिकल तथा प्रोबायोटिक जस्ता उत्पादन विभागमा दर्ता भएर मात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले हालसम्म म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि उत्पादनलाई विभागले दर्ता वा अनुमति नदिएको जानकारी दिए ।
विभागमा दर्ता नगरी यस्ता उत्पादन आहारपूरक खाद्य पदार्थको नाममा बिक्रीवितरण गरिएको पाइएमा ऐन अनुसार कडा कारबाही गरिने पनि उनले जानकारी दिए ।
साथै उनले आमउपभोक्तालाई यस्ता दर्ता नभएका उपभोग्य वस्तुमा सामाजिक सञ्जालमा आएका विषयमा सचेत रहन र दर्ता नभएका यस्ता पदार्थ प्रयोग नगर्न आग्रह गरे ।