काठमाडौँ । पछिल्लो चौबिस घण्टामा एक हजार ९२२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ ।
जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
मादकपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।